नेकपा रत्ननगर नगर समितिको एकता सन्देश सभा बृहत र्यालीसहित टाडि चोकमा सम्पन्न
रत्ननगर, चितवन । नेपाल कम्युनिस्ट पार्टी रत्ननगर नगर समितिको आयोजनामा एकता सन्देश सभा बृहत र्यालीसहित टाडि चोकमा भव्य रूपमा सम्पन्न भएको छ। पार्टीका नगर उपाध्यक्ष गणेश पौडेलले जानकारी दिनु भएअनुसार, रत्ननगर नगरका १६ वटै वडा कमिटीको सक्रिय तथा बृहत उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो।
टाडि चोकबाट सुरु भएको र्याली सराहा चोक र बकुलहर चोक हुँदै पुनः टाडि चोकमै पुगेर सभामा परिणत भएको थियो। करिब १५०० जनाको सहभागिता रहेको र्यालीमा थारु संस्कृति झल्कने पोसाकमा सजिएका झाँकी, महिला पञ्चे बाजा तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त र उत्साहपूर्ण बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य कृष्ण खनाल रहनुभएको थियो भने विशिष्ट अतिथि केन्द्रीय सदस्य ईश्वरी भट्टराई रहनुभएको थियो। अतिथिहरूमा संगीता भट्टराई, राजु अम्गाइ सुबोध, रामशरण कुवँर र बद्री घिमिरे लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा वक्ताहरूले कम्युनिस्ट आन्दोलन जनताको हक, अधिकार र सामाजिक न्यायका लागि समर्पित आन्दोलन भएको उल्लेख गर्दै पार्टीको एकता, राजनीतिक स्थायित्व, सुशासन र समृद्धि हासिल गर्न कम्युनिस्ट शक्तिहरूबीचको एकता अपरिहार्य रहेको धारणा मजबुत ढंगले प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई थप अर्थपूर्ण बनाउँदै क्रान्तिकारी गायक राजेन्द्र हमालले प्रस्तुत गरेका गीतहरूले पार्टीको एकता, संघर्ष र बलिदानको इतिहासलाई स्मरण गराउँदै एकता अझ गर्विलो र भावनात्मक सन्देश मुलुकभर प्रवाह गरेको सहभागीहरूको भनाइ रहेको छ।
कार्यक्रमको अध्यक्षता मेघनाथ पौडेलले गर्नुभएको थियो भने सञ्चालन ईश्वर अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा युवापुस्ताको उल्लेख्य सहभागिता देखिनु पार्टीप्रति नयाँ पुस्ताको आकर्षण बढ्दै गएको संकेत भएको नेताहरूले बताएका छन्।
अध्यक्ष मेघनाथ पौडेलका अनुसार, उक्त एकता सन्देश सभाले पार्टीभित्रको संगठनात्मक एकता मजबुत बनाउनुका साथै जनस्तरमा कम्युनिस्ट आन्दोलनप्रतिको भरोसा पुनःस्थापित गर्ने स्पष्ट सन्देश दिएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस