सबै काम आफैं गर्ने बानी: नेतृत्व कि नियन्त्रण?
इ. सैलेश आचार्य
कुनै कार्यालयमा सामान्य निर्णय गर्नसमेत प्रमुखलाई पर्खनुपर्छ भने त्यसलाई कसरी बुझ्ने ? प्रमुखको सक्रियता भनेर प्रशंसा गर्ने कि अरूले निर्णय गर्न नसक्ने अवस्था किन बन्यो भनेर सोध्ने ? आफूले सुरु गरेको व्यवसाय, बनाएको ग्राहक सम्बन्ध र लगानी गरेको पैसाप्रति चासो हुनु स्वाभाविक हो । तर त्यही चासोले हरेक काम आफैं गर्नुपर्ने बानी बसाल्यो भने संस्थाको गति प्रमुखको उपलब्धतामा निर्भर हुन थाल्छ ।
प्रविधि, बैंकिङ र व्यावसायिक नेतृत्वमा काम गर्दाका अनुभवले मलाई आफ्नो कार्यशैलीमाथि पनि प्रश्न गर्न सिकाएका छन् । काम राम्रो हुनुपर्छ भन्ने चाहना र काम अरूलाई सुम्पन नसक्ने स्वभावबीचको दूरी कहिलेकाहीँ निकै साँघुरो हुन्छ । हामी त्यसलाई गुणस्तरप्रतिको प्रतिबद्धता भन्छौं । तर त्यसको पछाडि सहकर्मीको क्षमताप्रति अविश्वास पनि हुन सक्छ ।
‘शब्दले संसार बदल्छ, Decoding the Words’ को पात्र समीर यही द्वन्द्वबाट गुज्रन्छ । जागिर छोडेर व्यवसायमा लागेको उसले १५ लाख रुपैयाँको परियोजना पाउँछ । अवसर ठूलो छ, तर त्यसलाई सम्हाल्ने उसको तरिका कमजोर छ । आफूले जस्तो काम अरूले गर्न सक्दैनन् भन्ने विश्वासमा ऊ सबै जिम्मेवारी आफ्नै हातमा राख्न खोज्छ । सहयोगी राज र सुमनसँग दूरी बढ्छ । अन्ततः परियोजना गुम्छ र ऊ आर्थिक संकटमा पर्छ ।
समीरको समस्या उसले मेहनतलाई सामूहिक कामको विकल्प ठान्नुमा छ । एउटा व्यक्तिले लामो समय काम गरेर केही दिनको चाप धान्न सक्छ । तर ग्राहकसँगको संवाद, कामको गुणस्तर, समयसीमा र सहकर्मीको समन्वय सधैं एक्लै सम्हाल्न कठिन हुन्छ । काम बढेसँगै जिम्मेवारी बाँड्ने तरिका पनि बदलिनुपर्छ।
व्यवसायको सुरुवाती अवस्थामा सीमित जनशक्तिका कारण एउटै व्यक्तिले धेरै जिम्मेवारी सम्हाल्नुपर्ने हुन सक्छ । समस्या त्यतिबेला आउँछ, जब टिम विस्तार भएपछि पनि निर्णय गर्ने अधिकार एकै ठाउँमा रहिरहन्छ । कर्मचारी थपिन्छन्, तर सामान्य कामको स्वीकृतिका लागि समेत प्रमुखलाई पर्खनुपर्छ । यस्तो अवस्थामा प्रमुखको व्यस्तता बढ्छ, सहकर्मीको क्षमता भने उपयोग हुन पाउँदैन ।
जिम्मेवारी बाँड्नु भनेको काम अह्राउनु मात्रै होइन । अपेक्षित नतिजा स्पष्ट पार्नु, आवश्यक सूचना दिनु, निर्णय गर्ने अधिकार तोक्नु र बीचमा समीक्षा गर्नु पनि हो । जिम्मेवारी दिएर अधिकार नदिँदा कर्मचारीले फेरि प्रमुखकै मुख ताक्नुपर्छ । तयारी र सहयोगबिना काम सुम्पेर असफल भएपछि दोष लगाउनु पनि उचित हुँदैन । कसले के निर्णय गर्न सक्छ र कुन अवस्थामा सहयोग माग्नुपर्छ भन्ने दुवै पक्षलाई थाहा हुनुपर्छ ।
सहकर्मीले फरक तरिकाले काम गर्दा नेतृत्वको धैर्य जाँचिन्छ । फरक तरिका सधैं गलत हुँदैन । नतिजा, समय र गुणस्तरका आधारमा मूल्यांकन गर्न सकियो भने संस्थाले प्रमुखको शैलीभन्दा बाहिर पनि काम गर्न सिक्छ । हरेक विवरण आफूले चाहेजस्तै हुनुपर्ने अडानले निर्णय ढिलो पार्न सक्छ र कर्मचारीको पहल गर्ने जाँगर घटाउन सक्छ ।
यहीँ निरन्तर सिकाइको अर्थ फराकिलो हुन्छ । नेतृत्वकर्ताले नयाँ प्रविधि वा व्यवस्थापनको विधि जानेर मात्रै पुग्दैन । आफूले जानेको कुरा टिममा कसरी पुर्यारउने र अरूबाट कसरी सिक्ने भन्ने पनि जान्नुपर्छ । गल्ती लुकाउनुपर्ने वातावरणमा समस्या ढिलो थाहा हुन्छ । प्रश्न गर्न पाइने वातावरणमा कमजोरी समयमै देखिन सक्छ । सहकर्मीले समस्या लिएर आउँदा त्यसलाई कसरी सुनिन्छ भन्ने कुराले अर्को पटक उनी बोल्छन् कि चुप लाग्छन् भन्नेमा प्रभाव पार्छ ।
जिम्मेवारीसँगै ग्राहकसँग व्यवहार गर्ने आधार पनि स्पष्ट हुनुपर्छ । विशेषगरी प्राविधिक सेवामा ग्राहकलाई कुन सुविधा आवश्यक छ र कुन पछि थपे हुन्छ भन्ने बुझाउन विक्रेताको भूमिका हुन्छ । समीरको कथामा बहिनीको कलेज शुल्क जुटाउनुपर्ने दबाबबीच उसलाई ग्राहकलाई महँगो प्याकेज बेच्ने अवसर मिल्छ । तर उसले ग्राहकको आवश्यकता हेरेर सानो प्याकेज सिफारिस गर्छ । पछि तिनै ग्राहकको सिफारिसबाट उसले थप ग्राहक पाउँछ ।
यो घटनालाई इमानदार भएपछि व्यापार अनिवार्य बढ्छ भन्ने सूत्रका रूपमा लिन मिल्दैन । तर ग्राहकलाई आवश्यक नभएको सेवा बेचेर हुने तत्काल आम्दानीसँगै विश्वास गुम्ने जोखिम पनि जोडिन्छ । महँगो सेवा बेच्नु आफैंमा बेइमानी होइन; त्यसको उपयोगिता, मूल्य र सर्त स्पष्ट हुनुपर्छ । नेतृत्वले बिक्रीको लक्ष्य तोक्दा यस्ता आधार पनि तय गर्नुपर्छ, ताकि कर्मचारीले हरेकपटक प्रमुखलाई नसोधी ग्राहकलाई उचित सल्लाह दिन सकून् ।
निर्णय गर्ने अधिकार पाएपछि त्यसलाई समयमै प्रयोग गर्ने अनुशासन पनि चाहिन्छ । ‘डु इट नाउ(Do it Now)’ अर्थात् ‘अहिले नै गर’ भन्ने अवधारणा यहीँ उपयोगी हुन्छ । यसको अर्थ अध्ययन नगरी हतारमा निर्णय गर्नु होइन । सूचना अपुग भए आजै माग्ने, समस्या आए सम्बन्धित व्यक्तिलाई समयमै बताउने र आफ्नो अधिकारभित्रको काम अनावश्यक रूपमा नरोक्ने हो । कुन निर्णय आफैं गर्न मिल्छ र कुन विषय प्रमुखसम्म पुर्याउउनुपर्छ भन्ने स्पष्ट भए काम अघि बढाउन सजिलो हुन्छ।
नेतृत्वको भाषा पनि दैनिक व्यवहारसँगै जाँचिन्छ । ‘म नभई हुँदैन’ भन्ने प्रमुख र ‘यो काम तिमीले सम्हाल्न के चाहिन्छ?’ भन्ने प्रमुखले टिमलाई फरक सन्देश दिन्छन् । दोस्रो प्रश्नले सहकर्मीको तयारी, स्रोत र कठिनाइबारे संवाद खोल्छ । तर प्रश्न सोधेर मात्र पुग्दैन । आवश्यक सहयोग र निर्णय गर्ने ठाउँ पनि दिनुपर्छ । जिम्मेवारी लिन प्रोत्साहन गर्ने तर प्रत्येक निर्णय उल्ट्याइदिने व्यवहारले विश्वास बन्न दिँदैन ।
व्यवसायलाई नाफा चाहिन्छ । तलब, सञ्चालन खर्च र लगानीको प्रतिफल आदर्शका कुराले मात्रै धानिँदैन । काम सम्हाल्न सक्ने टिम, स्पष्ट जिम्मेवारी र समयमै हुने निर्णयले व्यवसाय सञ्चालनमा प्रत्यक्ष अर्थ राख्छन् । यी आधार कमजोर हुँदा राम्रो अवसरसमेत सम्हाल्न कठिन हुन्छ ।
समीरले अवसर पायो, तर त्यसलाई धान्ने सामूहिक क्षमता बनाउन सकेन । नेतृत्व सम्हाल्ने हामीले आफ्नो संस्थामा हेर्नुपर्ने ठाउँ पनि यही हो । प्रमुख केही दिन अनुपस्थित हुँदा सामान्य कामसमेत रोकिन्छ भने जिम्मेवारी र अधिकार बाँड्ने अभ्यासमा सुधार आवश्यक छ । आफ्नो अनुपस्थितिमा पनि टिमले विवेकपूर्ण निर्णय गरेर काम अघि बढाउन सक्नु नेतृत्वको उपलब्धि हो ।
लेखक प्रविधि तथा व्यावसायिक व्यवस्थापनमा क्रियाशील छन् । उनीसँग बैंकिङ क्षेत्रको समेत अनुभव छ । उनको पुस्तक‘शब्दले संसार बदल्छ, Decoding the words ’ शिखा बुक्सबाट प्रकाशित छ ।







प्रतिक्रिया दिनुहोस