संस्कृति इन्टरनेसनल स्कुल र श्री पञ्चकन्या माध्यमिक विद्यालयबीच सहकार्य

सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब (FAB Lab) उपलब्ध गराइने

लोकप्रिय खबर
२८ असार २०८३, आइतबार

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्यानङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच सहकार्य गर्ने सम्झौता भएको छ । यस सहकार्यअन्तर्गत श्री पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेसनल स्कुलको फ्याब ल्याब (FAB Lab) मा निःशुल्क विशेष कक्षा सञ्चालन गरिनेछ । यस कार्यक्रमको औपचारिक शुभारम्भ २०८३ असार २८ गते, आइतबार (जुलाई १२, २०२६) मा पहिलो अन्तरक्रियात्मक कक्षामार्फत गरिएको हो ।

पहिलो कक्षामा विद्यार्थीलाई प्रयोगशालामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी दिइएको थियो । त्यसपछि उनीहरूले डिजिटल फेब्रिकेसनका उपकरण प्रयोग गर्दै सिर्जनात्मक डिजाइनसम्बन्धी व्यवहारिक अभ्यास गरेका थिए ।
यो शैक्षिक सत्रभर सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थीलाई थ्रीडी प्रिन्टिङ, कोडिङ तथा ए आई, रोबोटिक्स, फोटोग्राफी, भिजुअल इफेक्ट्स (VFX) लगायतका STEAM (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) विषयमा व्यवहारिक सिकाइ प्रदान गरिनेछ । साथै, समुदायलाई उपयोगी हुने विभिन्न परियोजना विकास गर्न पनि विद्यार्थीलाई प्रोत्साहन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमका सम्पूर्ण खर्च, आवश्यक सामग्री, अत्याधुनिक फ्याब ल्याबको प्रयोग तथा विशेषज्ञ प्रशिक्षकको व्यवस्था संस्कृति इन्टरनेसनल स्कुलले निःशुल्क रुपमा गर्नेछ । शैक्षिक वर्ष २०८३ भर सञ्चालन हुने यस कार्यक्रममा प्रत्येक दोस्रो आइतबार दुई घण्टाको कक्षा सञ्चालन गरिनेछ । यसबाट सामुदायिक विद्यालयका विद्यार्थीले २१औँ शताब्दीका आवश्यक सिप, सिर्जनात्मक सोच तथा व्यवहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, दुवै विद्यालयले यो गैर–व्यावसायिक सहकार्यबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक प्रविधिमूलक शिक्षामा सहज पहुँच दिलाउने, डिजिटल विभाजन कम गर्ने तथा नयाँ पुस्ताका नवप्रवर्तक तयार पार्ने विश्वास व्यक्त गरेका छन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI