चुनावअघि नै सभापति फेर्ने हतारोले कांग्रेस कमजोर बन्यो : नेविसंघ नेता कृष पटेल
वर्तमान सभापतिको राजीनामा स्वीकृत गरी तत्काल विशेष महाधिवेशन बोलाउन माग
काठमाडौं । नेपाल विद्यार्थी संघका नेता कृष पटेलले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाकृत कमजोर प्रदर्शन गरेको विषयमा टिप्पणी गरेका छन्। उनले निर्वाचनअघि नै विशेष महाधिवेशन बोलाएर पार्टी सभापति चयन गर्ने निर्णयले पार्टी संगठनलाई थप कमजोर बनाएको बताएका छन्।
पटेलका अनुसार गगन थापालाई चुनावअघि नै सभापति बनाउने प्रक्रिया समयअनुकूल नभएको र त्यसले पार्टीभित्रको एकता तथा तयारीमा असर पारेको थियो। उनले यस्तो निर्णय निर्वाचनपछि गरिएको भए पार्टीलाई सुदृढ बनाउन सहज हुने थियो समेत बताए ।
उनले थप भनेका छन् कि वर्तमान अवस्थामा पार्टीलाई मजबुत नेतृत्व आवश्यक रहेकोले सभापतिले दिएको राजीनामा तत्काल स्वीकृत गरी नयाँ नेतृत्व चयनका लागि अधिवेशन बोलाउनुपर्छ। पटेलले पार्टीभित्र स्पष्ट रणनीति, प्रभावकारी चुनावी अभियान तथा कार्यकर्ताको मनोबल उच्च राख्ने क्षमताको अभावकै कारण निर्वाचनमा अपेक्षित नतिजा आउन नसकेको पनि उल्लेख गरेका छन्।
उनले विशेषगरी युवापुस्तालाई पार्टी नेतृत्वमा समावेश नगर्नु, समयअनुसार नीति तथा कार्यक्रम परिमार्जन गर्न नसक्नु र स्थानीय तहदेखि केन्द्रीय तहसम्म समन्वयको कमी हुनु मुख्य कमजोरीका रूपमा औंल्याएका छन्। साथै, उनले पार्टीभित्र गुटबन्दी र आन्तरिक विवादले पनि चुनावी परिणाममा नकारात्मक असर पारेको बताएका छन्।
पटेलले अब पार्टीले आत्मसमिक्षा गर्दै स्पष्ट विचारधारा, दिगो योजना र जनतामाझ विश्वास पुनःस्थापित गर्ने रणनीति अवलम्बन गर्नुपर्ने बताएका छन्। उनले पार्टी नेतृत्व चयन गर्दा अनुभवसँगै नयाँ सोच र ऊर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार, आगामी दिनमा नेपाली कांग्रेसले जनताका मुद्दा रोजगार, शिक्षा, स्वास्थ्य, सुशासन र आर्थिक विकासलाई केन्द्रमा राख्दै अघि बढ्न सके मात्र पुनः बलियो राजनीतिक शक्ति बन्न सक्नेछ। उनले यसलाई पार्टी पुनर्जागरणको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेका छन्।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस