नारायणी अस्पताल प्रकरणमा निष्पक्ष छानबिन र स्वास्थ्य सेवा सुचारु गर्न नेविसंघ नेता पटेलको माग

लोकप्रिय खबर
१२ साउन २०८३, मंगलबार

पर्सा, साउन १२ –

नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता कृष्ण पटेलले नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामाको विषयलाई अत्यन्त गम्भीर भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो पहिलो पटक भएको घटना नभएको उल्लेख गरेका छन्। पटक–पटक देखिएका समस्या र व्यवस्थापकीय कमजोरीका कारण आम नागरिकले स्वास्थ्य सेवामा सास्ती भोग्दै आएको तथा आकस्मिक सेवासमेत प्रभावित हुनु चिन्ताको विषय भएको उनको भनाइ छ।

पटेलले चिकित्सकहरूको सामूहिक राजीनामाको विषयमा सरकारले कानुनी तथा प्रशासनिक प्रक्रियाअनुसार आवश्यक निर्णय गर्नुपर्ने बताएका छन्। साथै, घटनामा कसको लापरवाही वा कमजोरी रहेको हो भन्ने विषयमा निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषी देखिने जोसुकैमाथि कानुनबमोजिम कारबाही गर्न उनले माग गरेका छन्।

उनले स्वास्थ्य मन्त्रालय, अस्पताल प्रशासन तथा सम्बन्धित सबै निकायले जिम्मेवारीपूर्वक काम गर्दै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले व्यवस्थापकीय कमजोरी वा लापरवाहीका कारण कुनै पनि परिवारले आफ्ना प्रियजन गुमाउनुपर्ने अवस्था दोहोरिन नहुने उनको भनाइ छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI